
काठमाडौं। कास्की प्रहरीले सञ्चालन गर्दै आएको ‘अप्रेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरिएका तथा ध्वनि प्रदूषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
गएराति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको विशेष जाँच अभियानका क्रममा वडा प्रहरी कार्यालय बैदामको टोलीले ११ वटा र वडा प्रहरी कार्यालय बगरको टोलीले सात वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार गत वर्षदेखि सञ्चालनमा रहेको ‘अप्रेसन ३६५’ अन्तर्गत हालसम्म ७४० वटा सवारीसाधन र ३६ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा सञ्चालन भइरहेको उक्त अभियानले समाजमा आतंक फैलाउने, ध्वनि प्रदूषण गर्ने तथा प्रहरी जाँचका क्रममा अवरोध सिर्जना गर्ने सवारी चालकलाई लक्षित गर्दै कारबाही गरिरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकलको साइलेन्सर, सिट, रङ, ह्यान्डल, नम्बर प्लेट, इन्जिन, चेसिसलगायतका संरचनामा स्वीकृतिविना परिवर्तन गरी चर्को तथा पड्किने आवाज निकाल्ने प्रवृत्ति बढेपछि यस्ता गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो।
प्रहरीले स्वरूप परिवर्तन गरिएका मोटरसाइकल, होहल्ला गर्ने समूह वा ध्वनि प्रदूषण गर्ने गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनअनुसार स्वीकृति नलिई सवारीसाधनको संरचना परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने उपकरण जडान गर्ने व्यक्तिलाई १५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले स्मरण गराएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal