
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई सेवामुखी, पारदर्शी र करदाता-मैत्री बनाउन निर्देशन दिएका छन् । उनले करदातालाई त्रसित बनाएर होइन, विश्वास जित्दै स्वेच्छिक कर अनुपालनको वातावरण सिर्जना गरेर राजस्व संकलन गर्नुपर्नेमा जोड दिएका हुन् ।
बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आयोजित कार्यक्रममा देशभरका कर अधिकृतलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करदातालाई सम्मानजनक व्यवहार गर्दै कर तिर्ने संस्कृतिको विकास गर्न आग्रह गरे।
उनले कर प्रशासनमा व्यापक सुधार भएको अनुभूति बजारले गर्नुपर्ने उल्लेख गर्दै कर तिर्नु नागरिकका लागि बोझ नभई सहज प्रक्रिया बन्नुपर्ने बताए। करदाताले डरका कारण होइन, राज्यप्रतिको जिम्मेवारीबोधका आधारमा कर तिर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिको अभाव भए खुलस्त रूपमा जानकारी गराउन कर्मचारीलाई निर्देशन दिए। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सरकारले आवश्यक प्रोत्साहन दिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
राजस्व संकलनमा सहजीकरण गर्दै चालु आर्थिक वर्षको १६ खर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य पूरा गर्न सबै कर्मचारी एकजुट भएर काम गर्नुपर्ने उनले बताए।
उनले चालु आर्थिक वर्षको बजेटलाई अर्थतन्त्र सुधारतर्फको महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै आगामी चार वर्षमा सरकारले तय गरेको आर्थिक रूपान्तरणको आधार स्पष्ट देखिने विश्वास व्यक्त गरे।
बजेटमा घोषणा गरिएका कर छुट तथा प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता सचेतना बढाउन तथा कारोबारलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजान आवश्यक पहल गर्न पनि विभागीय नेतृत्वलाई निर्देशन दिइएको छ।
मन्त्री वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउन सरकारले तीव्र रूपमा काम गरिरहेको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमा कर प्रशासनले थप सतर्क र प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
त्यसैगरी, कर्मचारीको वृत्तिविकास कार्यसम्पादन, इमान्दारी र राज्यप्रतिको योगदानका आधारमा मूल्यांकन गरिने स्पष्ट पार्दै सरुवालगायत प्रशासनिक निर्णयका लागि कुनै पनि प्रकारको स्रोत-सिफारिस प्रयोग नगर्न कर्मचारीलाई आग्रह गरे।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal