
काठमाडौं । लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलोगेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले बिहीबार बिहान ९:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यसैगरी, कान्ति लोकपथमा वर्षायामको जोखिमका कारण बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म रोक लगाइएको छ ।
इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामाबगर-रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका-७ पिना खोलास्थित नाग्म-गमगडी सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal