
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
शनिबार आयोजित उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा आयोजित समारोहमार्फत स्वर्ण उत्सवको औपचारिक शुभारम्भ गरिएको हो।
२०३२ सालमा स्वर्गीय टोलाराम दुगडद्वारा काठमाडौंमा स्थापना गरिएको नाडाले आफ्नो ५०औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमसहित ऐतिहासिक स्वर्ण उत्सव मनाइरहेको जनाएको छ।

उत्सवलाई स्मरणीय बनाउन दशरथ रंगशालादेखि होटल याक एण्ड यति, दरबारमार्गसम्म विशेष पदयात्राको आयोजना गरिएको थियो। पदयात्रामा विशिष्ट व्यक्तित्व, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, पूर्वअध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो।
स्वर्ण उत्सवकै अवसरमा नाडाले संस्थाका पूर्वअध्यक्षहरूलाई विशेष सम्मानसमेत गरेको छ। असार १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने स्वर्ण उत्सव सप्ताहअन्तर्गत राजधानीसहित सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ।

पाँच दशकको अवधिमा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरेको छ भने हालसम्म २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन्। यस अवधिमा नाडाले आफ्नो वार्षिक प्रकाशनका रूपमा ३६औँ संस्करणको ‘नाडा अटोमोबाइल व्यापार निर्देशिका’, ५१औँ संस्करणको ‘नाडा समाचार’ तथा १८औँ संस्करणको ‘नाडा अटो ड्राइभ पात्रो’ प्रकाशित गरिसकेको जनाएको छ।
त्यसैगरी आगामी भदौ महिनामा १८औँ संस्करणको ‘नाडा अटो प्रदर्शनी’ आयोजना गर्ने तयारी भइरहेको पनि संस्थाले जनाएको छ।
नाडाले नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत उत्कृष्ट वस्तुगत संस्थाको पुरस्कार पटक-पटक प्राप्त गरेको उल्लेख गर्दै सन् २०१५ देखि गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाका रूपमा कार्यरत रहेको जनाएको छ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रूपमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्नुका साथै राष्ट्रिय विपद्का समयमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंहानियाले गरेका थिए भने सञ्चालन महासचिव मिलनबाबु मल्लले गरेका थिए।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal