
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेडिसिटी अस्पतालबीच महासंघका पदाधिकारी, कर्मचारी, जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सदस्य र उनीहरूका आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंस्थित महासंघको भवनमा आयोजित कार्यक्रममा महासंघका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । एक वर्षका लागि लागू हुने उक्त सम्झौताअनुसार महासंघका कार्यसमिति सदस्य, कर्मचारी, जिल्ला उद्योग वाणिज्य संघका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारले अस्पतालबाट विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा विशेष सहुलियत प्राप्त गर्नेछन् ।
सम्झौताअनुसार अस्पतालले भर्ना तथा बाह्य बिरामी सेवामा १० प्रतिशत छुट प्रदान गर्नेछ। यद्यपि औषधि, उपभोग्य सामग्री, प्रत्यारोपणसम्बन्धी सामग्री, विशेष स्वास्थ्य प्याकेज तथा बाह्य परीक्षण सेवामा भने उक्त सुविधा लागू नहुने जनाइएको छ। बिमा कम्पनीमार्फत प्रत्यक्ष भुक्तानी हुने सेवामा पनि छुट सुविधा लागू नहुने व्यवस्था गरिएको छ।
सहकार्यअन्तर्गत अस्पतालले महासंघका सदस्य तथा कर्मचारीका लागि वर्षमा दुई पटक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, आधारभूत जीवनरक्षा तालिम प्रदान गर्ने, विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउने तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सहमति भएको छ।
कार्यक्रममा महासंघका अध्यक्ष कमलेश कुमार अग्रवालले यस सहकार्यबाट महासंघका सदस्य, उनीहरूका परिवार तथा व्यावसायिक समुदायले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्ने विश्वास व्यक्त गरे। नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा रोग निवारणमुखी सेवाले स्वस्थ व्यावसायिक समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
त्यसैगरी नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले महासंघ र अस्पतालबीचको सहकार्य पुरानो सम्बन्धको निरन्तरता भएको उल्लेख गर्दै सदस्य तथा व्यवसायीलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको बताए। स्वास्थ्य क्षेत्रको विकासका लागि सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनको धारणा थियो ।
दुवै संस्थाले सेवा प्रवाह, समन्वय तथा सूचनाको आदानप्रदानलाई प्रभावकारी बनाउँदै प्राप्त सूचनाको गोपनीयता कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal