
भरतपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामअघि बढाइने बताएकी छन् ।
चितवन उद्योग संघले मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढाउने बताइन् । उनले सरकारले उद्योगी व्यवसायीलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने बताइन् । नियम उल्लंघन गर्ने उद्योगहरूको विद्युत लाइन काटिएको र नीति, प्रक्रियामा आई सञ्चालन भएका उद्योगलाई छुटसहित सहयोग गरिएको मन्त्री यादबले बताइन् ।
चितवन उद्योग संघका उपाध्यक्ष गोपालप्रसाद गैरेले संघका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराए । व्यवसायी अर्जुन सापकोटाले नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थमा सरकारले कर छुट दिनुपर्ने बताए ।
औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिकाका ३, ७ र ८ र इच्छाकामना गाउँपालिकाको ७ नम्बर वडाको एक हजार १७८ हेक्टर जग्गा तोकिएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि तयार भएको विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब ३७ अर्ब लागत लाग्ने अनुमान छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal