
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। पार्टीको प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मंगलबारको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ। बन्दसत्र दिउँसो २ बजे सुरु भई साँझ ६:४५ बजे समापन हुने कार्यक्रम रहेको छ ।
निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ । महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिहरूका लागि पार्टीको आफ्नै मोबाइल अनुप्रयोगमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन आयोगले ८० वटा विद्युतीय उपकरणमार्फत मतदान गराउने तयारी गरेको जनाएको छ। निर्वाचनबाट एक सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ ।
प्रमुख निर्वाचन आयुक्त केसीका अनुसार कुनै पनि उम्मेदवारका प्रस्तावक वा समर्थक स्वयं उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ। निष्पक्ष, पारदर्शी र व्यवस्थित ढंगले निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको आयोगले जनाएको छ ।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत हुने यस निर्वाचनलाई पार्टीको भावी नेतृत्व र संगठनात्मक दिशाका लागि महत्वपूर्ण मानिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal