
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड गरेको छ । नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोका लागि शुक्रबार स्टल बाँडफाँड गरिएको हो ।
एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत ४९ वटा स्टल बाँडफाँड गरिएको छ, जसमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुई पांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको छ ।
स्टल बाँडफाँड कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको नाइमा नेपाल मोबिलिटी एक्स्पोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको बताइन् ।
एक्स्पोलाई केवल प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको उनले उल्लेख गरिन् ।
‘प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको छ,’ उनले भनिन्, ‘निर्धारित समयसीमा समाप्त भइसकेपछि पनि केही कम्पनीबाट सहभागिताका लागि अनुरोध प्राप्त भइरहेको छ ।’ उपलब्ध स्थान तथा सम्भावनाको मूल्यांकन गरी विशेषगरी नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकतामा राखेर यस्ता अनुरोधहरू सम्बोधन गर्ने प्रयास गरिने उनले बताइन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताए ।
उनले उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिता र सहयोगले नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्दै विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको प्रदर्शनी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्णरूपमा पारदर्शी, निष्पक्ष तथा पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताए । ‘नेपालका प्रायः प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागिता रहेको एक्स्पोको तयारी सहभागी सवारी साधन ब्रान्डहरू, साझेदार संस्था तथा अन्य सरोकारवालासँगको सहकार्यमा व्यवस्थित तथा उच्च मापदण्डअनुरूप अघि बढिरहेको छ,’ उनले भने ।

एक्स्पोमा सहभागी चार पांग्रे सवारी ब्रान्डहरू
आर्कफक्स
बीएआईसी
बीवाईडी
सिट्रोन
डेन्जा
फोर्थिङ
ग्रेट वाल मोटर्स
हेन्ऱी भोल्ट्स
होन्री बोमा
हुन्डाई
आईकार
कायी
किया
लिपमोटर
महिन्द्रा
माक्सस
एमजी – गो अटोमोबाइल्स
एमजी – प्यारामाउन्ट मोटर्स
निसान
ओमोडा एन्ड जेइकु
प्युजो
प्रोटोन
टाटा
टोयोटा
वुलिङ
जिकर
सहभागी दुई पांग्रे सवारी ब्रान्डहरू
एथर
बजाज
सीएफमोटो / जीहो
ग्यारो
होन्डा
केरेन
केटीएम
मोर्बिडेली
एनआईयू
प्युजो एन्ड बिगाउस
रोयल इनफिल्ड
सुजुकी
ट्रायम्फ
टीभीएस
अल्ट्राभायोलेट
याडिया
जेडएक्स मोटो / सीएक्स मोटरसाइकल्स
सहभागी व्यावसायिक सवारी साधन ब्रान्डहरू
चेरी वान्डा
क्यारी
केटन
स्काइवर्थ
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । एक्स्पोमा अग्रणी ब्रान्डहरूको सहभागिता, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा समानान्तर ज्ञानमूलक सत्रहरू समावेश हुनेछन् ।
यसले उपभोक्ता, व्यवसायी तथा उद्योगका सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई नजिकबाट चिन्ने अवसर प्रदान गर्नेछ । नाइमा नेपालका मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको प्रतिनिधि संस्था हो, जसले ‘मोबिलिटी फर अल’को अवधारणालाई अघि बढाउँदै उद्योग विकास, नवप्रवर्तन प्रवर्धन तथा नीतिगत सहकार्यका लागि साझा मञ्चका रूपमा कार्य गर्दै आएको छ ।
प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ भने डिजिपल सलुसन्स डिजिटल मिडिया साझेदारका रुपमा रहनेछ । त्यस्तै प्रफिट मिडिया पब्लिकेसन्स साझेदारका रूपमा आबद्ध रहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal