
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् ।
रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी आएकाले पार्टी पङ्क्तिसमेत अनुशासित हुनुपर्ने उनले बताए ।
‘अधिवेशनहरूले नीति र नेतृत्वमा खार्दै लैजान्छ । हामीलाई पनि महाधिवेशनको चटारो छ, हामी बृहत्तर पार्टी निर्माणमा लागेका छौँ र आफैँलाई कसी लगाउनुपर्ने ठाउँमा आएका छौँ । एकबखत हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ, अब हामीले धेरै चिजहरूमा संयम हुनुपर्छ । हामी संयम हुन सक्यौँ भने पार्टी कमजोर हुँदैन,’ महामन्त्री बुर्लाकोटीले भने ।
उनले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सिर्जना नगरिएको भन्दै रास्वपा यो देशका सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरिछाड्ने उल्लेख गरे । ‘हामी सबैको योगदानका कारण पार्टी बनेको हो, हाम्रो राजनीतिक भविष्य खोज्नका लागि पार्टीमा जोडिएको होइन, देशको भविष्य निर्माण गर्न रास्वपामा जोडिएका हौँ, त्यसैले सबै जना तोकिएको जिम्मेवारीमा बस्नुपर्छ,’ उनले भने ।
उनले इमानदार कार्यकर्ताका लागि पार्टीले जहिले पनि जिम्मेवारी दिने भएकाले अधिवशेनबाट जिम्मेवारी नपाउने इमानदर र योग्य व्यक्तिलाई विधि बनाएर काम दिइने स्पष्ट पारे ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकारमा अहिले कुनै पनि समस्या नरहेको बताए । पार्टी सभापति रवि लामिछानेले पार्टी संगठन र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राजकीय जिम्मेवारी सञ्चालन गर्नेगरी दुई नेताका बीचमा जिम्मेवारी बाँडफाँट गरिएको उनले स्पष्ट पारे । पराजुलीले रास्वपाको लामो राजनीतिक अभ्यास र अनुभव नभए पनि पार्टी राष्ट्र निर्माणको अभियानमा लागेको बताए ।
प्रतिनिधिसभा सदस्य एवं पार्टी सचिवालय सदस्य सागर ढकालले देशलाई कसरी कायापलट गर्ने भन्ने मूल उद्देश्य पार्टी गठनको रहेकाले अन्य पद र जिम्मेवारीलाई ठूलो नमान्न आग्रह गरे ।
पार्टीका प्रदेश सभापति राजन गौतमले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन पहिलो प्राथमिकता रहेको बताए । उनले गण्डकीका ६४ पालिका र ५५५ वडा तथा ९ जिल्लाको अधिवेशन सम्पन्न भएको जानकारी दिए । महाधिवेशनमा ७३५ प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal