• Menu
s

४० डिग्री तापक्रम पुगेपछि गाईघाट बजार सुनसान, तातो हावाका कारण कक्षाकोठामै विद्यार्थी बेहोस हुन थाले

नेपाल प्रफिट

२०८३ जेठ २१, १२:३७

४० डिग्री तापक्रम पुगेपछि गाईघाट बजार सुनसान, तातो हावाका कारण कक्षाकोठामै विद्यार्थी बेहोस हुन थाले

उदयपुर । मनसुनमा आएको परिवर्तनसँगै त्रियुगालगायत जिल्लाका विभिन्न भागमा केही दिनयता अत्यधिक गर्मी बढेका कारण जनजीवन प्रभावित बन्न थालेको छ ।

अत्यधिक गर्मी बढ्न थालेपछि दिउँसो विभिन्न काममा हिँडडुल गर्न तथा गाईबस्तु चराउन जान समस्या हुन थालेको छ । अत्यधिक गर्मीका कारण तातो हावा चल्दा कतिपय विद्यालयका विद्यार्थी कक्षाकोठामै अध्ययनकै क्रममा बेहोस भएर ढल्ने घटना देखा पर्न थालेको विद्यालयका शिक्षकले बताएका छन् ।

त्रियुगा नगरपालिका-१ जोगीदह बरगाछीका स्थानीय देवीप्रसाद ढुंगानाका अनुसार एक हप्तायता अत्यधिक गर्मी बढ्न थालेपछि दिनमा गाईबस्तु चराउन जंगल-पाखातिर जान कठिनाइ भएको बताउँछन् ।

ढुंगाना भन्छन्, ‘एक हप्ता अगाडिसम्म दिउँसो ११:०० बजे गाईबस्तु जंगलमा लगेर चराउने गरेका थियौँ, तर अहिले अत्यधिक गर्मी बढ्न थालेपछि बिहानै गाईबस्तु जंगल लैजाने गरेका छौँ ।’ दिनमा घाँस दाउरा र मेलापात पनि गर्मीका कारण जान नसक्ने भएपछि  घर वरिपरि शीतलमा बसेर दिन बिताउन बाध्य हुन परेको जोगीदह कङग खोलाका उमानाथ खनाल बताउँछन् ।

त्रियुगा नगरपालिका-११ गाईघाट शान्ति नगरटोलका ७० वर्षीय वृद्ध होमबहादुर कार्की भन्छन्, ‘केही दिनयता अत्यधिक गर्मी बढेपछि घुमघाम गर्न नसक्दा साथीसँग भेटघाट नै बन्द जस्तै भएको छ ।’

त्रियुगा नगरपालिका-३ भुल्के सत्यदवी माविका शिक्षिका देविका दाहालका अनुसार, अत्यधिक गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बेहोस भएर ढल्ने गरेका छन् । मौसम विदहरुका अनुसार एक हप्तादेखि त्रियुगा क्षेत्रको तापक्रम ४० डिग्री सेल्सिएससम्म पुग्न थालेको छ ।

अत्यधिक गर्मीका कारण दिनमा समेत गाईघाट बजार क्षेत्र सुनसानजस्तै हुने गरेको स्थानीय व्यवसायी रमेशलाल साह बताउँछन् ।