पर्सा । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्ममा वीरगन्ज नाका भएर सात अर्ब ९७ करोडबराबरको दलहन आयात भएको छ । यहाँबाट सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।
गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले कम रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आवको १० महिनामा १० अर्ब २१ करोड मूल्यको दलहन आयात भएको थियो ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले घटेको छ । यस अवधिमा तीन अर्ब २० करोड मूल्य पर्ने मुसुरोको दाल आयात भएकोमा गत आवको १० महिनामा चार अर्ब ५० करोडको मुसुरो दाल आयात भएको थियो ।
यसैगरी, चालु आवको १० महिनामा दुई अर्ब चार करोड मूल्य पर्ने राजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने दुई अर्ब ७४ करोडको राजमा आयात भएको थियो । चालु आवको १० महिनामा एक अर्ब ९२ करोड मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने दुई अर्ब १७ करोडको आयात भएको थियो ।
चालु आवको १० महिनामा ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा ४५ करोड ८८ लाखको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।