• Menu
s

सरकारको प्राथमिकतामा स्वास्थ्य बिमा, आगामी आर्थिक वर्षका लागि १५ अर्ब बजेट विनियोजन

नेपाल प्रफिट

२०८३ जेठ २४, १५:५६

सरकारको प्राथमिकतामा स्वास्थ्य बिमा, आगामी आर्थिक वर्षका लागि १५ अर्ब बजेट विनियोजन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी छिन् ।  आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजनागरी मन्त्री मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी हुन् ।

छलफलमा मन्त्री मेहेताले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मीहरूसँग नियमित छलफल र सुझाव आदानप्रदान गर्ने बताएकी छन् ।

उनले सरकारको १०० बुँदे कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुँदा यसअघि यस्तो अन्तरक्रिया गर्न नसकिएको स्वीकार गरिन् । अब भने हरेक १५ दिन वा एक महिनाको अन्तरालमा सञ्चारकर्मीहरूसँग नियमित रूपमा छलफल गरिने उनले बताइन् ।

उनले भनिन्,‘हामीले यस्तो छलफल अलि पहिले नै गर्नुपर्ने थियो तर सरकारको १०० बुँदे कार्यक्रममा ध्यान दिँदा यतातिर ध्यान दिन पाइएन । अब निरन्तर रूपमा यस्ता छलफल गर्नेछौँ। सुझाव पनि लिनेछौँ र आएका सुझाव तथा सल्लाहलाई आत्मसात् गर्दै अघि बढ्नेछौँ।’

कार्यक्रममा सञ्चारकर्मीहरूले मन्त्रालयका कामकारबाही, स्वास्थ्य सेवा, खाद्य स्वच्छता तथा स्वास्थ्य बिमालगायत विषयमा विभिन्न सुझाव दिएका थिए। मन्त्री मेहेताले मन्त्रालयका कमी-कमजोरीबारे उठेका विषयलाई पनि सकारात्मक रूपमा लिँदै सुधारका लागि पहल गरिने बताइन् ।

उनलाई मन्त्री पदबाट बिदा हुन लागेको भन्दै पत्रकारले पनि प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले हालसम्म आफूलाई त्यससम्बन्धी कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारिन्। ‘आधिकारिक रूपमा त्यस्तो केही आएको छैन,’ उनले भनिन् ।

त्यस्तै मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बिमा सुधार सरकारको प्राथमिकतामा परेको बताए । उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमका लागि बजेट उल्लेखनीय रूपमा बढाइएको जानकारी दिए ।

उनले भने,‘बिमा सुधारको विषय अहिले सरकारको प्राथमिकतामा परेको छ । विगतका वर्षमा करिब साढे सात अर्ब रुपैयाँ बजेट विनियोजन हुने गरेकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । त्यसैले स्वास्थ्य बीमा क्षेत्रमा सुधार हुने अपेक्षा गरेका छौँ । ’ उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, दिगो र नागरिकमैत्री बनाउन मन्त्रालयले आवश्यक सुधारका कदम अघि बढाइरहेको पनि जानकारी दिए। सञ्चारकर्मीहरूसँगको छलफलबाट प्राप्त सुझावहरूले स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रमलाई थप परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयको रहेको उनले बताए ।

सम्बन्धित समाचार