• Menu
s

प्रोफेसनल होल्डिङ्सको २०औँ साधारणसभा सम्पन्न, ५० प्रतिशत बोनस सेयर पारित

नेपाल प्रफिट

२०८३ वैशाख १५, १६:२६

प्रोफेसनल होल्डिङ्सको २०औँ साधारणसभा सम्पन्न, ५० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । प्रोफेसनल होल्डिङ्स लिमिटेड (साबिक प्रोफेसनल एजुकेटर्स लिमिटेड) को २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अनुसार चैत २८ गते काठमाडौंको बानेश्वरस्थित ग्लोबल कलेजमा सम्पन्न सभामा कुल सेयरधनीमध्ये ८२.६४ प्रतिशतको सहभागिता रहेको थियो ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण पारित गरेको जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको लेखापरीक्षण गर्न एनबीएसएम एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट फर्मलाई लेखापरीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण गरिएको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

बोनस सेयर जारी भएपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

यसैगरी, कम्पनीको जारी पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने विशेष प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ। उक्त निर्णयसँगै कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको जनाएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने लगायत अन्य सामान्य तथा विशेष प्रस्तावहरू पनि सभाबाट पारित भएको जनाएको छ ।

यस्तै अवसरमा कम्पनीको सहायक कम्पनी युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडले पनि आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर तथा त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको जनाएको छ।

अन्त्यमा, कम्पनीले आफ्नो मुख्य सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रति उच्च व्यावसायिक सुशासन, दृढ नेतृत्व र मार्गनिर्देशनका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको जनाएको छ।