• Menu

देश विकासका लागि नवीन सोचको सम्मान र अनुकूल वातावरण आवश्यक : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ माघ १६, बुधबार १६:०१

देश विकासका लागि नवीन सोचको सम्मान र अनुकूल वातावरण आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश विकासका लागि नवीन सोचको सम्मान सोही अनुरुपको वातावरण आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस उद्यमशीलता तथा साना मझौला व्यवसायी विकास विभागले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘नेपालमा स्टार्टअप र साना तथा मझौला सम्मलेन’मा उनले अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको बताए ।

देशको आर्थिक उन्नतिका लागि उद्यमशीलता प्रवर्धन, लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा केन्द्रित हुनुपर्ने उनले स्पष्ट पारे । नेपालमा सम्भावना नै सम्भावना भएकाले ‘यहाँ सम्भावना छैन’ भन्ने भाष्य परिवर्तन गर्नुपर्ने अध्यक्ष ढकालले उल्लेख गरे ।

सरकारले नीतिगत सुधारका लागि काम गरे निजी क्षेत्र लगानीका लागि तयार रहेको र अहिले अनुकूल वातावरण निर्माण हुँदै आएको उनले बताए । नवप्रवर्तनशील सोच र जोश भएका युवामा उद्यमशीलता विकासका लागि सरकार र निजी क्षेत्र मिलेर वातावरण निर्माण गरिदिनुपर्ने उनको धारणा छ ।

नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायको प्रवर्धनका लागि स्टार्टअप एन्ड इन्नोभेसन समिति तथा फोरमहरु स्थापना गर्नुका साथै त्यसमार्फत विभिन्न काम गरिरहेको र स्टार्टअपको माध्यमबाट धेरै युवा व्यवसायमा आएको उदाहरण उनले दिए ।

‘पहिले काम गर्छु भन्दा लगानीको समस्या थियो । अहिले बैंक, वित्तीय संस्था, भेन्चर कम्पनी र व्यक्तिगत रुपमा पनि लगानी गर्ने संस्थाहरु छन् । काम गर्न चाहनेका लागि पुँजीको अभाव हुँदैन । यो अवस्थामा अहिले उद्यमशीलता र नवप्रर्वतनका लागि अवसर छ । यसको सही उपयोग गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने ।

यस्तै उनले देश विकासका लागि बाह्य लगानी आवश्यक रहे पनि स्वदेशी पुँजीको परिचालनबाट पनि देश विकास गर्न सकिने बताए । ‘हामीले धेरै गर्नुपर्नेछ । देश विकासका लागि विदेशी पुँजी पनि चाहिन्छ तर आन्तरिक पुँजी परिचालनबाट पनि हामीले पूर्वाधार विकास र अन्य काम गर्न सक्छौँ,’ उनले भने । अहिले आन्तरिक पुँजी परिचालनबाट पनि केही गर्न सकिन्छ भनेर आफूहरुले १० अर्ब पुँजीको पब्लिक लिमिटेड कम्पनी स्थापना गरेको र यसबाट विकासका कामहरु सुरु गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष ढकालले उद्यमशीलताका लागि नागरिकमा उच्च मनोबलको विकास तथा नीतिगत सुधार आवश्यक रहेको धारणा राखे । ‘महासंघले नीतिगत सुधारका लागि सरकारसँग पैरवी र सुधारको पहल गर्दै आइरहेको छ । त्यसैको फस्वरुप कतिपय कानुन संशोधन र परिमार्जन भएका छ्न् । यो सकारात्मक पक्ष हो । यसलाई हामीले स्वागत गरेका छौं तर यो पर्याप्त छैन । ती कानुन कार्यान्वयनका लागि सोही अनुरुप नियमावली र कार्यविधि आउनुपर्छ,’ उनले भने ।

साना तथा मझौला उद्योगहरूले स्थानीय कच्चा पदार्थ र सीपको उपयोग तथा रोजगारी सिर्जना गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको उनले उल्लेख गरे । अध्यक्ष ढकालले आधुनिक प्रविधि र बजार प्रवर्धनका लागि पर्याप्त पुँजीको व्यवस्था गरेर साना तथा मझौला उद्योगको विकास गर्न सकिने धारणा राखे ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले हालै गरेको नीतिगत सुधारबाट निजी क्षेत्र  उत्साहित भएको बताए । उद्योग व्यवसाय प्रवर्धनका लागि नीतिगत स्थिरता आवश्यक रहेको उनको धारणा छ ।

‘अहिले अर्थतन्त्र चलायमान हुन सकेको छैन । बजारमा माग छैन । यसतर्फ ध्यान जान आवश्यक छ । यद्यपि, देशको विकासका लागि अरुले गरिदिने होइन, हामीले नै गर्ने हो । सरकारले वातावरण निर्माण गरिदिनुपर्छ । निजी क्षेत्र सधैँ तयार छ,’ उनले भने । उद्योग वाणिज्य महासंघले स्टार्टअप तथा उद्यमशीलता प्रवर्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी उनले दिए ।

कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले उद्योग व्यवसायको विकासका लागि कांग्रेस सम्मिलित सरकारले नीतिगत सुधारको काम गरिरहेको बताए । देशको आर्थिक समृद्धिका लागि उद्यमशीलता र नवप्रवर्तनलाई जोड दिनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्