• Menu

धरानबाट दुई सय ९ किलो गाँजासहित ५ जना पक्राउ, दुईवटा स्कार्पियो गाडी पनि बरामद

नेपाल प्रफिट

२०८३ कात्तिक १६, सोमबार १०:५९

धरानबाट दुई सय ९ किलो गाँजासहित ५ जना पक्राउ, दुईवटा स्कार्पियो गाडी पनि बरामद

सुनसरी । धरान उपमहानगरपालिका-२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा ‘लोड’ गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका-११ का २१ वर्षीय अमृत बिशुङ्खे छन् ।

प्रहरीले त्यस क्रममा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो  समेत बरामद गरेको सूचना अधिकारी खड्काले बताए । प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा छ । रासस