
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।
नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख छुट्याइएको छ । नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ बजेट विनियोजन गरेका हुन् ।
बाँदरको समस्यालाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । बाँदरको समस्या समाधान गर्न संघीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको जनाइएको छ ।
नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रमसमेत सञ्चालन गर्ने नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई के चाहिन्छ ? कार्यक्रमअन्तर्गत किसानको घरदैलोमा पुगेर प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण र एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।
जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुंगा गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले असार ७ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । जिल्लाको दोस्रो ठूलो स्थानीय तह (एघार वडा रहेको) हलेसी तुवाचुङ नगरपालिकाले ८४ करोड ११ लाख ८२ हजारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
केपिलासगढी गाउँपालिकाले मंगलबार ४७ करोड ५१ लख पाँच हजार १७० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको १९औँ गाउँसभामा गाउँपालिका उपप्रमुख गुरुराज राईले पुँजीगत खर्चतर्फ १७ करोड १२ लाख ५१ हजार तथा चालु खर्चतर्फ ३० करोड ३८ लाख ५४ हजार १७० बजेट विनियोजन गरेका हुन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पाँच स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका, बराहपोखरी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal