
काठमाडौं । सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाइन् ।
सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन् । उनले मन्त्रीले संसदको रोष्टमबाट सांसदहरूलाई धम्क्याउने शैलीमा बोल्नु उपयुक्त नभएको बताइन्।
उनले भनिन्,‘मानव अधिकारको रिपोर्ट जसरी लुकाइयो त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ । त्यस्तै,अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउन चाहन्छु । मन्त्रीले रोष्ट्रमबाट सांसदलाई थर्काउने होइन् । देशमा नियम कानुन छ, फाइल खोल्छु भन्दै धम्की दिन मिल्छ ? नियम, कानुन अन्तर्गत फाइल खोलेर कारवाही गर्ने हो आफ्नो बचाउको लागि धम्की दिने होइन् ।’
सीमा विवादको विषय उठाउँदै यादवले प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले यसअघि परराष्ट्रमन्त्रीले दिएको जवाफ ढाकछोप मात्र भएको टिप्पणी गरिन्।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमाक्षेत्रमा देखिएका गतिविधिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उनले उठाइन् ।
उनले भनिन्,‘प्रधानमन्त्रीले दिनुभएको सीमा सम्बन्धी विवादको ठोस् जवाफ कहिले आउँछ ? म सरकारसँग माग गर्न चाहन्छु । विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो परराष्ट्रमन्त्रीले हामीलाई जवाफ दिनुभयो । त्यो सबैलाई थाहा छ । ढाकछोप गर्ने काम मात्र भएको हो ।
त्यसैगरी उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले ठेकेदारले काम नगरे ‘खुट्टा भाँचिदिने’भनेर अभिव्यक्ति दिएको विषयमा पनि आपत्ति जनाइन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal