• Menu
s

परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ नेता वाङ हुनिङबीच बेइजिङमा भेटवार्ता

नेपाल प्रफिट

२०८३ असार २, ११:१७

परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ नेता वाङ हुनिङबीच बेइजिङमा भेटवार्ता

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच मंगलबार बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल-चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता-जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको दूतावासको भनाइ छ ।

नेपाल-चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ र गतिशील बनाउने सिपिपिसिसी अध्यक्ष वाङको दृढ प्रतिबद्धताको उच्च प्रशंसा गर्दै मन्त्री खनालले दुई देशबीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री खनालले आजै ‘ह्वाइट पागोडा’को भ्रमण गर्ने र  त्यसपछि चिनियाँ सञ्चारमाध्यम तथा रोयटर्सलाई अन्तर्वार्ता दिने तालिका रहेको छ । उनी अपराह्न नेपाली दूतावास बेइजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुने छन् ।

मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका थिए । उनीहरूबीच सोमबार प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।