• Menu
s

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै, कुन प्रदेशमा कहिले ?

नेपाल प्रफिट

२०८१ जेठ ८, १७:४८

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै, कुन प्रदेशमा कहिले ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले “श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवातमात्रै भएको बताए । आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय तह र वडासम्म पुर्‍याउन सकिने उनको भनाइ छ ।

मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन्,’ उनले भने, ‘त्यस्तै रोजगारीकf लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउने सकिनेछ ।’

मेला जेठ १७ देखि ३० सम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले बेरोजगार र रोजगारदाताबीच मध्यस्थताको काम गर्नेछ ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागिता रहनेछ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ ।

सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघको पनि मेलामा स्टल राखिनेछ ।

मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ । त्यस्तै मधेस प्रदेशको वीरगन्जमा १९ र २० गते र गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ ।

लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बागमती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते मेला सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।