• Menu

स्टार्टअप फेस्ट पुस ७ गते, आयोजक भन्छ- लगानी जुटाउन सहयोग पुग्छ

नेपाल प्रफिट

२०८० मंसिर २२, शुक्रबार २०:५१

स्टार्टअप फेस्ट पुस ७ गते, आयोजक भन्छ- लगानी जुटाउन सहयोग पुग्छ

काठमाडौं ।  नेपाल उद्योग परिसंघअन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागिएको हो ।

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नवीन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहँदै आएको छ । नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिनेछ । साथै नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच गहन छलफल गरिनेछ । स्टार्टअप प्रवर्धनमा विदेशमा भइरहेका सफल अभ्यास र उपलब्धिका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन् ।

सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ मा  दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेस्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ ।

प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीले लगानीको प्रतिबद्धता जनाई आसयपत्रमा हस्ताक्षर गर्नेछन् । पुँजी लगानीका लागि टेलि भेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धतासमेत जनाइसकेका छन् ।

सीएनआईवाईइएफ स्टार्टअप फेस्टको पहिलो संस्करण सन् २०२२ मा आयोजना गरिएको थियो । सो फेस्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटाउन पनि सफल भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्