दाङ । दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ ।
हाल उक्त आयोजना सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ । आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आयोजनाको मुहान राप्ती नदीमा एउटा साइड इन्टेक संरचना, १७ किमी मूल नहर, ५४ वटा साना-ठूला नहर संरचना निर्माण भएका छन् ।
त्यस्तै २.३७६ किमी शाखा नहर र १४.५६९ किमी नहर लाइनिङ कार्य सम्पन्न भएको सूचना अधिकारी वलीले जानकारी दिए । उनका अनुसार चेनेज १५ हजार ९९० सम्मको निर्माण पूरा भएको छ । त्यस्तै नौ दशमलव ५४५ किमी तटबन्ध निर्माण भएकामा ६१० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराएर रोपाइँ गरिएको छ ।
बड्कापथ आयोजनाका लागि ५ अर्ब ७० करोड ४० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएकामा हालसम्म दुई अर्ब ८० करोड ८१ लाख बराबरको वित्तीय प्रगति भएको कार्यालयका लेखा अधिकृत नवराज वलीले जानकारी दिए । उनका अनुसार सात हजार परिवारका ४५ हजार जनसंख्यालाई लाभाम्वित गर्ने गरी आर्थिक वर्ष २०६८/६९ देखि उक्त आयोजना निर्माण सुरु भएको हो ।
आयोजनाअन्तर्गत ३० किलोमिटर मूल नहर निर्माण गर्ने, १३ शाखा नहर र ५३ वटा प्रशाखा नहर निर्माण गर्ने गरी डिपीआर तयार भएको हो । गत आव २०८२/८३ मा वार्षिक लक्ष्यको तुलनामा भौतिक प्रगति १०० प्रतिशत र वित्तीय प्रगति ९९.८८ प्रतिशत हासिल भएका लेखा अधिकृत वलीले जानकारी दिए ।
साथै आगामी वर्षका लागि चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्म ठेक्का सम्झौता भई निर्माण अघि बढेको छ । जसको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । चेनेज २२ हजार २०० देखि ३० हजारसम्म निर्माणका लागि पनि काम अघि बढेको छ ।
२८ ठेक्का पूर्ण
बड्कापथ सिँचाई आयोजना अन्तर्गत आव २०६८/६९ मा इन्टेक निर्माणको पहिलो ठेक्का सम्झौता भएदेखि हालसम्म कुल ३१ वटा मुख्य निर्माण, मर्मत तथा बचावटसम्बन्धी ठेक्काहरू भएका छन् । तीमध्ये २८ वटा ठेक्काको निर्माण पूरा भएको आयोजना कार्यालयले जनाएको छ ।
हालको अवस्थामा दुई वटा ठेक्का निर्माणाधीन रहेका छन् । जसअन्तर्गत मूल नहरको चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्म नहर तथा संरचना निर्माण गर्ने ठेक्काको काम हालसम्म २० प्रतिशत भौतिक प्रगति हासिल भएको सूचना अधिकारी वलीले बताए ।
गढवास्थित सव-डिभिजन कार्यालय भवन निर्माण ठेक्कामा २६ प्रतिशत भौतिक प्रगति भएको छ । बाराको फेटामा प्रहरीको गोली लागि गम्भीर घाइते युवकलाई भेन्टिलेटर सुविधा भएको हेलिकप्टरमा काठमाडौं लगियो, एसएपी प्रभु ढकालको नेतृत्वमा घटनाको छानबिन सुरु, घटनामा संलग्न प्रहरी निरीक्षक लामा जिल्ला तानिएका छन् । रासस