• Menu

तुलसीपुर नापी कार्यालयले एक वर्षमा गर्यो ४८ लाख ७ हजार राजस्व संकलन

नेपाल प्रफिट

२०८३ कात्तिक १५, आइतबार १७:२२

तुलसीपुर नापी कार्यालयले एक वर्षमा गर्यो ४८ लाख ७ हजार राजस्व संकलन

दाङ । दाङस्थित नापी कार्यालय तुलसीपुरले गत आर्थिक वर्षमा ४८ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले  ४८ लाख ७ हजार ४६५ राजस्व संकलन गरेको हो ।

संकलित राजस्वमध्ये नक्सा बिक्रीबाट २२ लाख २९ हजार ४७५, फिल्ड रेखांकन तथा कित्ता एकीकरण सेवाबाट २४ लाख ८४ हजार २६५ र अन्य प्रशासनिक सेवा शुल्कबाट ९३ हजार ७२५ प्राप्त भएको छ ।

कार्यालयले फिल्ड किताब उतारसम्बन्धी एक हजार १७३ वटा निवेदनको शतप्रतिशत काम सम्पन्न गरेको छ । त्यस्तै, क्षेत्रफल जाँचतर्फ प्राप्त ५४ वटै निवेदनको काम फछ्र्यौट भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

नक्सा प्रिन्ट सेवाअन्तर्गत साधारण निवेदनमार्फत २२ हजार ३५ वटा र ‘मेरो कित्ता’ प्रणालीमार्फत २२७ वटा सेवा प्रदान गरिएको छ । फिल्ड रेखांकनका २५९ निवेदनमध्ये २३८ वटाको काम सम्पन्न भएको छ भने २१ वटा बाँकी रहेका छन् ।

त्यसैगरी, कित्ता एकीकरणका १२३ वटै निवेदनको काम शतप्रतिशत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

जग्गा कित्ताकाट सेवातर्फ राजीनामासम्बन्धी तीन हजार ३६५ लिखतमध्ये तीन हजार ३५७ वटाको काम सम्पन्न भएको छ भने आठवटा बाँकी छन् । अंशबण्डातर्फ ४४३ लिखत, अदालतको फैसलातर्फ ५६ लिखत र हालको बकसपत्रतर्फ ४१८ लिखत प्राप्त भएको कार्यालयको विवरणमा उल्लेख छ ।

कार्यालयले राजस्व संकलनलाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्दै आएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थालाई आवश्यक पर्ने नक्सासमेत अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको सूचना अधिकारी खड्काले बताए ।

कार्यालयले प्रवाह गर्ने विभिन्न सेवाको तथ्यांकले जग्गासम्बन्धी प्रशासनिक कामलाई डिजिटल प्रणालीसँग जोड्ने प्रयाससमेत अघि बढेको देखाएको छ । रासस