• Menu

विचार

बालबालिकामा के कारणले बढ्दै छ दमको रोग ?

नेपाल प्रफिट

२०८१ जेठ २७, ११:५४

बालबालिकामा के कारणले बढ्दै छ दमको रोग ?

जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभर वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण र जलवायु परिवर्तनका कारण मौसमसमेत राम्रो हुन सकेको छैन । धुवाँ, धुलो, वायु प्रदूषण, वंशाणुगत गुण, घरमा धुम्रपान, मोटोपना, कम तौलमा जन्म आदि कारणले बालबालिकामा दमको समस्या अत्यधिक बढेको पाइन्छ ।

ग्रान्डी अस्पतालमा आउने १ सय जना बिरामीमध्ये ५ देखि १० जना बिरामी दमका हुने गरेका छ । बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकी, भाइरल ज्वरो हुँदा र श्वासप्रश्वास नली साँघुरिँदा दमको समस्या देखिने गरेको छ ।

श्वासप्रश्वास नली साँघुरिँदा खोकी बढी मात्रामा लाग्ने गर्छ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दा पनि बढी खोकी लाग्ने, एन्टिबायोटिक खाँदा एक-दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने जस्तो भएमा दम भएको हुनसक्छ । यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककहाँ लैजानुपर्छ ।

दमलाई औषधिले ठिक गर्ने होइन, ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ । अन्यथा, दम दीर्घरोग भएर जान सक्छ । दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ ।

इन्हेलर विभिन्न खालका हुन्छन्, जसलाई डाक्टरको सल्लाहबमोजिम प्रयोग गर्नुपर्ने हुन्छ । बच्चाहरूमा मुख्यत: दम एलर्जीबाट हुने हुँदा ठिकसँग औषधि लिएमा पछि गएर आफैँ हराउन सक्छ । लामो समय इन्हेलर लिइरहनुपर्ने आवश्यकता रहँदैन ।

दमका बिरामीबाहेक अस्पताल आउने अन्य बिरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका बिरामी बढी आउने गरेका छन् । अहिले रुघाखोकीका बिरामीको संख्या अत्यधिक बढेको छ ।

बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चासमेत बिरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका बिरामी अत्यधिक बढेका छन् ।

(डा. सञ्जयराज थापा काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका बाल, एलर्जी तथा दमरोग विशेषज्ञ हुन् ।)