
काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ कोप्चेस्थित राँके-रवि-भेडेटार सडक पनि अवरुद्ध भएको छ । गोरखाको धार्चे गाउँपालिका-७ लिदिङस्थित आरुघाट-माछिखोला सडक पनि अवरुद्ध भएको छ।
यसैगरी, ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal