• Menu

डोल्पाको मुहार फेर्ने १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण सुरु

नेपाल प्रफिट

२०८३ असार १५, १७:४८

डोल्पाको मुहार फेर्ने १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण सुरु

काठमाडौं । सरकारले जनताको जलविद्युत कार्यक्रममार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माणको काम सुरु भएको छ । मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै भौतिक निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।

कुल १०६ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, विद्युत खरिद–बिक्री सम्झौता (पिपिए), वित्तीय व्यवस्थापन, उत्पादन अनुमतिपत्र तथा उद्योग दर्तालगायत काम यसअघि नै भइसकेको छ । सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना आयोजना हो ।

प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्ध-जलाशययुक्त आयोजना विकास गरिरहेको छ । कम्पनीले जगदुल्ला जलविद्युत आयोजनाबाट १०६ मेगावाट र जगदुल्ला- ‘ए’ आयोजनाबाट १२४ मेगावाट गरी कुल २३० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आयोजनाले विद्युत उत्पादनबाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको सापकोटाको भनाइ छ । “कम्पनीले आयोजना प्रवर्धन गर्ने क्रममा आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण, त्रिवेणी-मुड्केचुला-जगदुल्ला सडकखण्डको कठिन भिरमा ‘ट्र्याक’ खोल्ने तथा पहुँच मार्गमा १० वटा ‘बेली ब्रिज’ जडान सम्पन्न गरिसकेको छ,’ प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले भने ।

ती संरचनाले आयोजनालाई मात्र नभई स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याएको छ । विगतमा घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता हट्दै यातायात पहुँच सहज बनेको छ । परियोजनाकै कारण डोल्पाको यातायात सेवा पनि उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।

केही वर्षअघिसम्म नेपालगन्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी समय लाग्ने र वर्षायाममा आवागमन लगभग अवरुद्ध हुने अवस्था थियो । अहिले एकै दिनमा यात्रा सम्भव भएको छ । डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौंसम्म रात्रिबस सञ्चालन हुने वातावरण बनेको उनको भनाइ छ ।

उनका अनुसार आयोजना निर्माणसँगै तयार भएको पूर्वाधारले पर्यटन क्षेत्रमा पनि दीर्घकालीन प्रभाव पार्ने अपेक्षा छ । रारा ताल, शे-फोक्सुण्डो ताल, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला तथा मुगुसम्म पुग्ने वैकल्पिक र छोटो मार्ग विकास हुन भएपछि कर्णाली प्रदेशको पर्यटन सम्भावना थप विस्तार हुनेछ ।

आयोजना निर्माणपश्चात् वार्षिक करिब १९ करोड ५० लाख संघीय सरकार, नौ करोड ५० लाख प्रदेश सरकार र नौ करोड ५० लाख स्थानीय तहले रोयल्टी प्राप्त गर्नेछन् । यसले स्थानीय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

यस्तै, १२४ मेगावाट क्षमताको जगदुल्ला-ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । वातावरणीय अध्ययन, जग्गा अधिग्रहण, पिपिए, वित्तीय व्यवस्थापन तथा अनुमतिपत्रसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणको परामर्शदाता कम्पनी एनइए इन्जिनियरिङमार्फत नेपाली इन्जिनियरले सर्भे, डिजाइन तथा लागत अनुमान तयार गरिएको यो आयोजना सरकारी निकायको बहुमत स्वामित्वमा निर्माण हुन लागेको आयोजना हो ।

सो कम्पनीमा सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ ।

स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर सुरक्षित गरिएको छ । प्रसारण लाइनको मार्गाधिकारभित्र पर्ने जग्गाधनीलाई तीन प्रतिशत शेयर दिने व्यवस्था पनि गरिएको छ । यस्तो मोडेल सम्भवतः नेपालमा पहिलोपटक लागू गरिएको हो ।

जगदुल्ला जलविद्युत आयोजनामा करिब रु १६ अर्ब ६६ करोड बराबरको ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । त्यसमा नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआइडिसिएल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआइसी एसिया बैंकको सहभागितामा वित्तीय व्यवस्थापन गरिएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।