
काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन ग्लोकल प्रालि र विश्वप्रसिद्ध उच्च शिक्षा मूल्यांकन तथा विश्लेषण संस्था टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य भएको छ।
इन्डोनेसियाको जकार्तामा आयोजित विश्व दिगो विकास महासभा २०२६ का क्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा ग्लोकलका अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया-प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार नेपालका विश्वविद्यालय तथा सम्बन्धित सरकारी निकायहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय पहिचान विस्तार, प्रभाव मूल्यांकन, विश्वस्तरीय मापदण्डसँग तुलना तथा रणनीतिक विकासका क्षेत्रमा सहकार्य गरिनेछ । साथै उच्च शिक्षा संस्थाहरूलाई तथ्यांकमा आधारित निर्णय प्रक्रिया, संस्थागत रूपान्तरण तथा विश्वस्तरीय अभ्यास अवलम्बन गर्न सहयोग पुर्याइने जनाइएको छ।
दुवै संस्थाले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘स्टडी इन नेपाल’ अभियानलाई समेत विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने योजना बनाएका छन् । यसबाट नेपाली विश्वविद्यालयहरूको क्षमता, शैक्षिक उत्कृष्टता तथा अनुसन्धानका अवसरहरूलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउन मद्दत पुग्ने विश्वास गरिएको छ।
सहकार्यअन्तर्गत विश्वविद्यालय, सरकार, उद्योग तथा विकास साझेदारहरूसँग मिलेर सीप विकास, रोजगारीयोग्यता अभिवृद्धि, नीतिगत सुधार, संस्थागत विकास तथा नवप्रवर्तनका क्षेत्रमा पनि संयुक्त पहल गरिनेछ। साथै शैक्षिक तथा परामर्शसम्बन्धी विभिन्न परियोजनाको पहिचान र कार्यान्वयनमा समेत सहकार्य हुने जनाइएको छ ।
समझदारीपछि ग्लोकलका अध्यक्ष ठाकुरले नेपालको उच्च शिक्षा क्षेत्र रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्यले विश्वविद्यालयहरूको क्षमता विकास, संस्थागत सुदृढीकरण तथा विश्वव्यापी सहभागिता विस्तारमा टेवा पुग्ने बताए ।
टाइम्स हायर एजुकेसनकी एशिया-प्रशान्त क्षेत्रीय अध्यक्ष लिमले नेपाल उच्च शिक्षा विकासका लागि ठूलो सम्भावना बोकेको देश भएको बताउँदै विश्वविद्यालय, सरकार र सरोकारवालाबीचको सहकार्यलाई थप मजबुत बनाउन संस्था प्रतिबद्ध रहेको बताइन् ।
दुवै संस्थाले शिक्षा, अनुसन्धान, सीप विकास, रोजगार, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेर नेपालको उच्च शिक्षा क्षेत्रलाई विश्वस्तरमा स्थापित गर्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal