• Menu
s

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु, राति-दिउँसो दुवै सिफ्टमा काम

नेपाल प्रफिट

२०८३ असार ३, बुधबार ०७:०१

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु, राति-दिउँसो दुवै सिफ्टमा काम

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज (व्यास) को पाइप हो ।

भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

‘पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ । अब चाँडै अन्य प्रक्रिया सुरु हुन्छ,’ उनले भने । उनका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्‍याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा कामम भइरहेको छ ।

हाल विभिन्न स्थानमा ‘रिजर्भ’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिनेछ ।

‘सिस्टम’ हस्तान्तरणपछि काठमाडौँवासीका घर-घरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताए ।