• Menu
s

नेपालमा मात्र पाइने ‘काँडेभ्याकुर’ पहिलोपटक मधेश प्रदेशमा फेला, देशकै सातै प्रदेशमा भौगोलिक फैलावट पुष्टि

नेपाल प्रफिट

२०८३ जेठ २४, १३:३२

नेपालमा मात्र पाइने ‘काँडेभ्याकुर’ पहिलोपटक मधेश प्रदेशमा फेला, देशकै सातै प्रदेशमा भौगोलिक फैलावट पुष्टि

काठमाडौं । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ । समुद्री सतहदेखि चार सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्रपर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ को दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो ।

चराविद् हठन चौधरी र सुरज बरालले चरा अवलोकनका क्रममा यही जेठ २१ गते दुधौरा खोलाको पूर्वी शाखा खोला किनारमा यस चराको अभिलेख गरेको नेपाल पन्छीविद् संघले जनाएको छ ।

चरा अवलोकनका क्रममा वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी आंशिष पन्त, सुमीसिंह ठकुरी र निश्चल पोखरेल पनि सहभागी थिए । उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा काँडेभ्याकुरको पहिलो अभिलेख गरिएको हो ।

नेपाल पन्छीविद् संघ र मिथिला ‘वाइल्डलाइफ ट्रस्ट’को संयुक्त सहकार्यमा हाल मधेस प्रदेशका आठवटै जिल्लामा चरा सर्वेक्षणको काम भइरहेको छ । पहिलो चरणको सर्वेक्षण जाडोयामलाई लक्षित गरी गत माघ-फागुनमा गरिएको थियो भने दोस्रो चरणमा गर्मीयाम लक्षित सर्वेक्षण हाल यही जेठ १८ गतेदेखि सुरु गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागको अनुमतिमा पर्सा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र मधेस प्रदेशका आठै जिल्लाका डिभिजन वन कार्यालयहरूसँग समन्वय गरी सर्वेक्षण सुरु भएको जनाइएको छ ।

काँडेभ्याकुर नेपालमा मात्र पाइने रैथाने चरा हो । प्रायः पहाडी क्षेत्रमा बढी पाइने यो चरा यसअघि सात प्रदेशमा अभिलेख भइसकेको छ । अब बारा जिल्लामा पनि चरा फेला परेसँगै यसको भौगोलिक फैलावट नेपालका सातवटै प्रदेशमा पुष्टि भएको छ ।