काठमाडौँ । नेपालको होटल उद्योगमा साढे ५ खर्ब लगानी रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ छ ।
तथ्यांकअनुसार होटल उद्योगमा साढे १० अर्बभन्दा बढी विदेशी लगानी छ । नेपालमा एक लाख ४२ हजार २२३ होटल तथा रेस्टुरेन्ट रहेको तथ्यांक छ ।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र समेटिएको थियो ।
डा. रेग्मीका अनुसार यसपटकको सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह सेवा सदन, छात्राबास होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ पार्टी प्यालेसको विस्तृत संकलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको हो ।
देशभरका डेढ लाख होटलमध्ये एक हजार १२१ होटलमा पूर्ण विदेशी लगानी छ । जसमध्ये एक हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ । देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभर सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण र व्यवस्थापन गरेको थियो ।
सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्याएको योगदानको मापन गर्न सहज हुने विश्वास लिइएको छ । २०७९ साउन १ देखि २०८० असार ३० सम्म सर्वेक्षण गणना गरिएको हो ।
पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्यांक संकलन पूर्णगणना विधिबाट गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
तथ्यांकअनुसार १० करोडभन्दा बढी स्थायी सम्पत्ति भएका होटल रेस्टुरेन्टको संख्या ४९३ छ । तीमध्ये बागमतीमा २१४ वटा छन् । एक करोडदेखि १० करोडसम्म सम्पत्ति भएका होटल आठ हजार ७३२ छन् । दुई लाखभन्दा कम लगानीमा खुलेका होटल रेस्टुरेन्ट ६७ हजार पाँच सय २१ छन् ।
तथ्यांकमा देशभरि सञ्चालनमा रहेका होटल रेस्टुरेन्टमध्ये एक लाख ३७ हजार ७१६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ । जसको सम्पत्ति चार खर्ब १८ अर्ब ६२ करोड हाराहारी छ ।
नेपाली नागरिकको संयुक्त लगानीमा तीन हजार ३२७ होटल प्रतिष्ठान सञ्चालनमा छन् । जसमा एक खर्ब १४ अर्ब लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल रेस्टुरेन्ट छन् ।
सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवन सेवा गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको संख्या एक लाख पाँच हजार ४५९ छ ।