काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) का नवनियुक्त उपाध्यक्ष प्रा. डा. ओम बरालले प्राविधिक शिक्षालाई जनताको घरदैलोमा पुर्याउने बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषदले मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले भने, ‘दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालाई देशका हरेक युवासम्म पुर्याउन जरुरी छ, त्यो जिम्मेवारी मेरो काँधमा आएको छ, म नतिजा निस्किने गरी काम गर्छु ।’
कार्यक्रममा बुद्धिजीवी परिषदका केन्द्रीय अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले सरकारको विश्वास कायम राख्दै नतिजामुखी काम गर्न बराललाई आग्रह गरे ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले ७० प्रतिशत नेपालीलाई प्राविधिक शिक्षा एवं तालिम दिलाउने उद्घोष गर्नुभएको छ,’ उनले भने, ‘संस्थाका चुनौतीसँग लड्दै सरकारी लक्ष्य पूरा गर्नु तपाईंको दायित्व हो, त्यसलाई पूरा गर्नुहुनेछ भन्ने विश्वास हामीलाई छ ।’
त्यस्तै बुद्धिजीवी परिषदका महासचिव ई. गजेन्द्र थपलियाले बराललाई सीटीईभीटीमा कुशलता, विद्वता र क्षमताको भरपुर उपयोग गरी संस्थाको उचाइ र गरिमा बढाउन अनुरोध गरे । बुद्धिजीवी परिषद सरकारको थिंक ट्यांकको रुपमा रहेकाले परिषदकै सल्लाहमा कसरी राम्रो गर्न सकिन्छ त्यसमा जोड दिन सुझाव दिए ।
बुद्धिजीवी परिषद काठमाडौं जिल्ला अध्यक्ष बराललाई सरकारले मंसिर ६ गते सीटीईभीटीको उपाध्यक्ष नियुक्त गरेको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष डा. दीपेन्द्र भण्डारी, उपाध्यक्ष विधान आचार्य, उपमहासचिव शुशील विक, सचिव ऋषिराम खनाललगायतको उपस्थिति थियो ।