• Menu
s

आवश्यक परे सीमा क्षेत्रमा काँडेतारबार वा पर्खाल लगाऔँ : सांसद तामाङ

नेपाल प्रफिट

२०८३ असार १, १३:०४

आवश्यक परे सीमा क्षेत्रमा काँडेतारबार वा पर्खाल लगाऔँ : सांसद तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सुस्ताको समस्या नयाँ नभई लामो समयदेखि समाधान हुन नसकेको विषय भएको बताइन् । उनले सुस्ता क्षेत्रमा गण्डकी नदीले धार परिवर्तन गर्दै जाँदा नेपालको धेरै भूभाग विवादित बनेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘नेपालको सीमा सुरक्षा सम्बन्धी गम्भीर विषयमा सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सुस्ताको समस्या कुनै नयाँ समस्या होइन, यो धेरै वर्षदेखि अल्झिएको विषय हो । गण्डकी नदीले आफ्नो धार परिवर्तन गर्दै जाँदा सुस्ता क्षेत्रमा नेपालको धेरै जमिन विवादित बनेको छ ।’

उनले पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएको भन्दै घटनाको वास्तविकता के हो भन्ने विषयमा सरकारको धारणा माग गरिन् । साथै, सरकारले यसबारे हालसम्म के-कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा संसदलाई स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता औंल्याइन् ।

उनले भनिन्, ‘पछिल्लो समय त्यहाँ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएका छन्। यस घटनाको वास्तविकता के हो? सरकारले यसबारे के-कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा स्पष्ट जानकारी लिन आवश्यक छ। ’

तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता क्षेत्र नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका संवेदनशील विषय भएको बताइन् । उनले सीमा समस्या ती क्षेत्रहरूमा मात्र सीमित नरहेको उल्लेख गर्दै अन्य सीमा क्षेत्रमा पनि विभिन्न प्रकारका विवाद र चुनौती विद्यमान रहेको धारणा राखिन् ।

उनले भनिन्, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा जस्ता क्षेत्रहरू नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएका संवेदनशील विषय हुन्। यस्ता समस्या केवल ती क्षेत्रहरूमा मात्र सीमित छैनन्। अन्य सीमा क्षेत्रहरूमा पनि विभिन्न प्रकारका विवाद र चुनौतीहरू विद्यमान छन्। कुनैपनि राष्ट्रको सार्वभौमिकताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता गर्नु हो। यदि राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ।’

उनले कुनैपनि राष्ट्रको सार्वभौमिकताको आधार आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता भएको बताउँदै राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न नसके देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिइन् ।

सांसद तामाङले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गर्न र आवश्यक कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरिन् । आवश्यक परे नेपाल र भारतबीचको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने विषयमा समेत विचार गर्नुपर्ने उनको भनाइ थियो ।

‘सरकारले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहलसहित अघि बढोस् भन्ने आग्रह छ । आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने व्यवस्था पनि गरियोस्,’ उनले भनिन् ।