• Menu

चितवनमा जैविक सुरक्षा नअपनाउँदा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या

नेपाल प्रफिट

२०८१ फागुन १९, १४:४०

चितवनमा जैविक सुरक्षा नअपनाउँदा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या

चितवन । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट संकलित नमूना परीक्षण गर्दा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी संक्रमण देखिएका हुन् ।

प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार २८५ किसानको दुई हजार १७५ कुखुराको शवपरीक्षण गरी रोगको परीक्षण गरेको थियो । कार्यालयका प्रमुख विजयकुमार श्रेष्ठका अनुसार वातावरणमा हुने ब्याक्टेरियाका कारण इकोलाई २९५, गम्बारो भाइरस १६८, सिआरडी ब्याक्टेरिया १५४, ढुसी (माइक्रोटक्सिन) ११२ र साल्मोनेला ब्याक्टेरिया ७२ वटामा देखिएको छ ।

यस्तै, एसआइटिस पेटमा पानी जम्ने ५९, सिसिआरडी ब्याक्टेरिया ४१, फाउल कलेरा कुखुराको हैजा २५, कक्सी डियोसिस रातो छेर्ने १९, जुका १४ र रानीखेत आठ वटामा देखिएको थियो । यही अवधिमा चार वटा खोरका ‘ब्वायलर’ कुखुरामा एच ९ देखिएको थियो । यी रोगका कारण शत्प्रतिशतसम्म मृत्यु हुने भएकाले जैविक सुरक्षा अपनाउनुपर्ने उनको भनाइ छ । रानी खेत, बर्डफ्लुजस्ता कारण शत्प्रतिशत कुखुरा मर्ने गर्दछन् । गम्बारो २० प्रतिशत, एच ९ ले ५० प्रतिशत कुखुरा मर्ने भन्दै उनले समयमा नै सतर्कता अपनाउन कृषकहरूलाई सुझाव दिएको बताए । फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन् । बजारमा निःसंक्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसंक्रमण गर्नुपर्ने हुन्छ ।

मौसम परिवर्तनको समय भएकाले बर्डफ्लुको समेत उच्च जोखिम हुने हुँदा देशैभरका कुखुरापालक कृषकले ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ । यस कार्यालयले देशैभरिका पन्छीका नमूना लिएर परीक्षण गर्ने गर्दछ ।

यस वर्षको पुससम्ममा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १६ जिल्लामा पालिएका पन्छीहरूको नमूना परीक्षण गरिएको उनले जानकारी दिए । धेरै कुखुरा चितवनमा पालिएको र कार्यालय यही भएकाले बढी नमूना चितवनका रहेका छन् ।