• Menu

युक्रेनको भूमिगत सम्पदामा अमेरिकी आँखा, रुसविरुद्धको युद्धमा यस्तो छ सौदाबाजी

नेपाल प्रफिट

२०८१ फागुन ११, १०:४४

युक्रेनको भूमिगत सम्पदामा अमेरिकी आँखा, रुसविरुद्धको युद्धमा यस्तो छ सौदाबाजी

एजेन्सी । युक्रेनको माटोले विश्वको खनिज स्रोतको करिब ५ प्रतिशत ओगटेको छ । विशेषज्ञहरूका अनुसार तर ती सबै अझै दोहन गरिएको छैन र दोहन गर्न सम्भव पनि छैन । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनको त्यो सम्पदा कसरी सुरक्षित गर्ने भन्ने ध्याउन्नमा देखिएका छन् ।

वर्ल्ड माइनिङ डाटाको २०२४ संस्करणअनुसार युक्रेन सबै श्रेणीहरू मिलाएर (कोइलासहित) खनिज-उत्पादक देशहरूमध्ये ४०औँ स्थानमा छ । यो सन् २०२२ मा विश्वको १०औँ सबैभन्दा ठूलो फलाम उत्पादक थियो ।

फ्रान्सको ब्युरो अफ जियोलोजिकल एन्ड माइनिङ रिसर्च (बीआरजीएम) सहितका भूवैज्ञानिकहरूले सन् २०२३ मा प्रकाशित युक्रेनको अध्ययनमा फलाम, म्यागनिज र युरेनियमसहित एक सयभन्दा बढी स्रोत फेला पारेका थिए ।

महत्त्वपूर्ण खनिज

देशहरूले खनिजलाई आफ्नो अर्थतन्त्र वा ऊर्जा उत्पादनका लागि महत्त्वपूर्ण वा रणनीतिक भनेर वर्णन गर्न सक्छन् । संयुक्त राज्य अमेरिकाले करिब ५० र युरोपेली संघले ३० भन्दा बढीलाई तोकेका छन् ।

युरोपेली आयोगले युक्रेन टाइटेनियमको महत्त्वपूर्ण विश्वव्यापी आपूर्तिकर्ता भएको र २० भन्दा बढी महत्त्वपूर्ण कच्चा मालको सम्भावित स्रोत भएको बताएको छ । यो म्यागनिज (वर्ल्ड माइनिङ डाटाअनुसार विश्वको आठौँ सबैभन्दा ठूलो उत्पादक), टाइटेनियम (११औँ) र ग्रेफाइट (१४औँ) को उल्लेखनीय उत्पादक हो, जुन विद्युतीय ब्याट्रीहरूका लागि आवश्यक छ ।

युक्रेनले ‘युरोपको सबैभन्दा ठूलो लिथियम भण्डारहरूमध्ये एक’ भएको पनि बताएको छ । तथापि, युक्रेनी सरकारले यो नरम धातुको अहिलेसम्म उत्खनन नभएको जनाएको छ ।

दुर्लभ तत्वहरूको दोहन हुन बाँकी

दुर्लभ पृथ्वी तत्वहरू (आरईई) महत्त्वपूर्ण खनिजहरूको धेरै व्यापक श्रेणीभित्र १७ धातुको एक विशिष्ट वर्गीकरण हो । युक्रेन स्क्रिन, ड्रोन, वायु टर्बाइन र विद्युतीय मोटरहरूका लागि आवश्यक दुर्लभ पृथ्वी तत्वहरूको भण्डारका लागि चिनिन्छ ।

ट्रम्पले विशेष गरी अमेरिकाले दुर्लभ पृथ्वी तत्वहरू लिन चाहेको बताएका छन् । रुससँगको युद्धमा युक्रेनलाई अमेरिकी सहायताको बदलामा खनिज तत्वको सौदाबाजी उनले गरेका छन् । युक्रेनले आफ्नो देशमा रहेको खनिज तत्वमा अमेरिकालाई प्रवेश दिने हो भने रुसविरुद्धको युद्धमा सहयोग गर्न ट्रम्प तयार हुनेछन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षणकी युक्रेन विशेषज्ञ एलेना साफिरोभाले युक्रेनमा दुर्लभ पृथ्वी तत्वहरू भएका केही भण्डार रहेको तर यी कुनै पनि भण्डारको उत्खनन नगरिएको उल्लेख गरेकी छन् ।

सन् २०२३ मा बीआरजीएमले युक्रेनसँग ‘महत्त्वपूर्ण आरईई स्रोतहरू’ रहेको तर थप अन्वेषण र विकासका लागि ठूलो लगानी आवश्यक पर्ने बताएको थियो । युक्रेनी सरकारले ६ वटा भण्डारमा दुर्लभ पृथ्वी धातुहरू रहेको उल्लेख गरेको छ । ‘विश्वका सबैभन्दा ठूला भण्डारहरूमध्ये एक’ नोभोपोल्टाभस्के भण्डारको विकास गर्न ३० करोड डलर लगानी आवश्यक पर्ने बताएको छ ।

प्राविधिक रूपमा युक्रेनी सरकारले उल्लेख गरेका केही तत्वहरू (ट्यान्टालम, नायोबियम, बेरिलियम, स्ट्रोन्टियम, म्याग्नेटाइट) १७ दुर्लभ पृथ्वी तत्वहरूको सूचीमा छैनन् । रेटिङ एजेन्सी एस एन्ड पीले फेब्रुअरीमा युक्रेनी सरकारका केही अनुमानहरू ‘दुर्लभ पृथ्वीको भण्डारमा पुग्न गाह्रो भएको सोभियत युगको मूल्यांकन’ मा आधारित रहेको बताएको थियो ।

देशको दुर्लभ पृथ्वी तत्वहरू एकाग्रतामा धेरै कम वा पहुँच गर्न धेरै कठिन हुनसक्ने भएकाले युक्रेनको दुर्लभ पृथ्वी तत्वहरूको भण्डार उत्खनन गर्न लाभदायी नहुन सक्ने एस एन्ड पीले बताएको छ ।