कास्की । पोखरा महानगरपालिकामा भदौ पहिलो सातायता डेंगी संक्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगी संक्रमितको संख्या सात सयआसपास रहेकोमा महिना दिनमा बढेर चार हजार ४३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको उक्त कुल संख्या गत पुसयताको हो ।
महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीका अनुसार महानगरले संक्रमितको संख्या ३१ सयभन्दा बढी पुग्न नदिने गरी डेंगी रोकथाम गर्ने लक्ष्य लिएको थियो । ‘पछिल्लो एक महिनामा डेंगी संक्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा संक्रमण देखिन सक्छ,’ उनले भने, ‘प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगी रोकथाम चुनौतीपूर्ण छ ।’
गत वर्ष पोखरा महानगरपालिकाका तीन हजार ३७० जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । कात्तिकसम्म संक्रमणको जोखिम रहने भएकाले यो वर्ष संक्रमितको संख्या अझै बढ्न सक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेंगी संक्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगीका कारण मृत्यु भएको हो । पोखरा महानगरपालिका ५, ८ लगायतका वडा डेंगीबाट बढी प्रभावित छन् । जनघनत्व बढी भएका ठाउँमा डेंगी छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा संक्रमण तीव्र बनेको हो ।
संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगी रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताए ।
प्रमुख नेपालीले असारदेखि कात्तिकसम्म डेंगीको संक्रमण बढी फैलने बताए । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगीले महामारीको रुप लिनसक्ने प्रमुख नेपालीले बताए ।
‘डेंगीलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्,’ उनले भने, ‘डेंगी भइसकेपछि धेरै पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।’
डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेंगी संक्रमण हुने गरेको उनले बताए । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गर्छ । यो लामखुट्टेले दिनमा मात्र टोक्छ ।
डेंगी संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । डेंगी भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने उनीहरुको सुझाव छ ।
वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगीको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने प्रमुख नेपालीले बताए । डेंगी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न दिन हुँदैन ।
डेंगीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख नेपालीले बताए । कास्कीका पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा नौ–नौ जना र माछापुच्छ्रे गाउँपालिकामा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।