• Menu

बाढी र कटानको जोखिममा रहेको बेनीको मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयन, २०० बढी घर सुरक्षित

नेपाल प्रफिट

२०८३ असार १५, १५:४८

बाढी र कटानको जोखिममा रहेको बेनीको मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयन, २०० बढी घर सुरक्षित

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका-७ मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ ।

जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीले मंगलाघाटस्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो । मंगलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए ।

उनका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावियन पर्खाल निर्माण भएको छ । योजना निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ फागुन १० गते ९९ लाख १९ हजार २९५ मा ठेक्का सम्झौता भएको थियो ।

यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघि नै सम्पन्न भएको हो ।  इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको व्यवसायीले बताएका छन् ।

यसअघि मंगलाघाटमा आयोजना मार्फत विभिन्न चरणमा ५०० मिटरभन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मंगलाघाटमा २०० भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।

आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखि नै आयोजना सञ्चालन भएको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ ।

योजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजनाहरु निर्माण सम्पन्न हुने चरणमा रहेका बताए ।