
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८:३० बजेदेखि सुरु भएको छ । उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्रको कार्यक्रम राखिएको छ ।
प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र चलिरहेको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रमा अनुशासन आयोगबाट रमाकान्त रिमालले र कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बिहान १० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ । बिहान १०:४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल अघि बढाउनेछन् ।
बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै, पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ ।
बन्दसत्रमा रास्वपाका चार हजार २११ प्रतिनिधि, परिवेक्षक र स्वयंसेवक रहनेछन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजै दिउँसो १ बजेपछि उम्मेदवार मनोनयनका लागि फाराम वितरण हुनेछ । दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
यस्तै बेलुका ६ देखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दावीविरोध, ७ देखि ९ बजेसम्म दावीविरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिनेछ । उनका अनुसार बेलुका ९:१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ बजे गरिनेछ ।
असार ९ गते मंगलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । यसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले जानकारी दिए ।
मतदानपछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा दुई घण्टापछि गर्ने रास्वपाको तयारी छ । त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइनेछ । प्रथम महाधिवेशनको उद्घाटन सत्र गेस्टहाउस चौरमा आइतबार भव्य रुपमा सम्पन्न भएको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal