जुम्ला । जिल्लाका आठवटै स्थानीय तहका ६० वडाका करिब नौ हजारभन्दा बढी परिवारमा खानेपानीको पहुँच विस्तार भएको छ । जिल्लामा रहेका २४ हजार चार सय २२ परिवारमध्ये नौ हजार आठ सय ८६ मा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार भएको हो ।
जिल्लास्थित खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले बाँकी परिवारले सार्वजनिक धारा, कुवा, मूलको र नदीको पानी खाइरहेको बताए । ‘कार्यालयको तथ्यांकअनुसार १० हजार तीन सय २९ परिवारले सार्वजनिक धाराको पानी खाँदै आएका छन् । कुवाको पानी खाने ५९ परिवार छन्,’ उनले भने ।
मूलधाराको पानी खाने तीन हजार आठ सय ७४, नदी तथा खोलाको पानी खाने दुई सय १४ र अन्यले पानीका अन्य स्रोतको प्रयोग गर्दै आएका कार्यालय प्रमुख महतले जानकारी दिए । अहिलेसम्म ४०.४७ प्रतिशत परिवारमा ‘एक घर एक धारा’ पुगेको उनले बताए ।
हरेक घरमा खानेपानीका धारा पुर्याउने सरकारी लक्ष्य भए पनि पुग्न सकेको छैन । कार्यालय प्रमुख महतले जुम्लामा बृहत् खानेपानीका आयोजना निर्माण हुन थालेको बताए । आगामी दिनमा सबै परिवारमा खानेपानीका धारा पुग्ने गरी काम भइरहेको उनले जानकारी दिए ।
कर्णाली प्रदेशमा ९६ प्रतिशत नागरिकले दूषित पानी पिउँदै आएका छन् । पर्याप्त खानेपानीको स्रोत भए पनि प्रशोधन अभाव र आवश्यकताअनुसार लगानी नहुँदा कर्णालीका ९६ प्रतिशत नागरिक खोलाको दूषित पानी पिउने गरेका कार्यालय प्रमुख महतले बताए ।
‘प्रदेशका ८४ प्रतिशत परिवारमा खानेपानी सुविधा पुगेको तथ्यांक छ । २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार कर्णाली प्रदेशको कुल जनसंख्या करिब १७ लाख छ, जसमध्ये ८४ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा छन्,’ उनले भने ।
खानेपानी पहुँच नपुगेका परिवारमध्ये ९६ प्रतिशत नागरिक प्रदूषित पानी पिउन बाध्य रहेको सरकारी तथ्यांकले देखाएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ ।