• Menu

बिक्न छाडे ठेका र मदानी

नेपाल प्रफिट

२०८१ माघ ८, १०:१५

बिक्न छाडे ठेका र मदानी

म्याग्दी । सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आएका टीका चुदारा यतिबेला निराश छन् । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघको सुरुमै नै बागलुङबाट ठेका र मदानी लिएर आएका उनले सोचेअनुरुप सामान बिक्री गर्न सकेका छन् ।

गाउँबाट मेलामा आउने सर्वसाधारणमध्ये निकै थोरैले मात्र ठेका र मदानी खरिद गरेको चुदाराले बताए । ‘केही वर्ष अघिसम्म ठेका र मदानीको माग पुर्‍याउनै कठिन हुन्थ्यो, मेलामा ल्याएका सामान केही दिनमै सकिन्थ्यो, अहिले बेनी आएको एक साता भइसक्यो, ठेका र मदानीको बिक्री उत्ति धेरै भएको छैन,’ उनले भने ।

गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको तथा सिल्टे र प्लास्टिकका ठेका तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेका र मदानी बनाउने सीप र पेसा संकटमा पर्न थालेको छ । काठको ठेकामा गाईभैँसीको दुध, दही र मोही संकलन गरिन्छ । काठका ठेकाको विकल्पमा धातुबाट बनेका ठेका बजारमा आउन थालेपछि परम्परागत सीप र काठको उपयोग गरी ठेका बनाउने पेसा अँगालेका समुदायलाई समस्या भएको छ ।

गिठादार काठबाट परम्परागत सीप र औजारको प्रयोग गरेर बनाउने ठेकालाई तीन हजारदेखि १५ हजार रुपैयाँसम्म पर्छ । बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा घरेलु उद्योगबाट चुदाराले ठेका, मदानी, ठेकी, पुङ, पुचाईसँगै सजावटका लागि साना ठेकीका सामान बनाउँदै आएका छन् । अहिले ६० वर्ष पुगेका चुदाराले २० वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा ठेका बनाउन थालेका हुन् ।

‘बाउबाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ तर मौलिक सीपलाई प्रयोग गरेर ठेका बनाउने पेसालाई सरकारी तवरबाट कुनै सहयोग भएको छैन, गाउँमा अधिकांशले यो पेसा छाडिसकेका छन्, मेरा छोराहरूले पनि अन्य पेसा र रोजगारी गर्न थालेका छन्, हामी पछि गाउँमा यसरी ठेका बनाउने मानिस भेटिँदैन,’ चुदाराले भने ।

चुदाराले म्याग्दीमा २०५० को दशकमा लाग्ने तत्कालीन माघे संक्रान्ति मेला तथा २०६० सालपछि लाग्दै आएको म्याग्दी महोत्सवमा काठबाट बनेका ठेकाठेकीका सामान बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्