• Menu

आइएमई पे प्रतिष्ठित ‘डिजिटल सर्भिसेज आईसीटी पुरस्कार २०२४’ बाट सम्मानित

नेपाल प्रफिट

२०८१ पुस ७, १७:१५

आइएमई पे प्रतिष्ठित ‘डिजिटल सर्भिसेज आईसीटी पुरस्कार २०२४’ बाट सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे आईसीटी अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ । पुस ५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको आईसीटी अवार्ड कार्यक्रममा आइएमई पे डिजिटल सर्भिसेजलाई सम्मानित गरिएको हो ।

आईसीटी अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्छ । आफ्नो नवीन र प्रयोगकर्ता मैत्री प्लेटफर्ममार्फत आइएमई पेले डिजिटल भुक्तानीलगायतका विभिन्न वित्तीय सेवाहरु प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको छ । यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्वपूर्ण योगदानलाई सम्मान गरेको छ ।

‘डिजिटल सर्भिसेज आइसिटि अवार्ड २०२४ बाट सम्मानित हुन पाउँदा हामी निकै गौरवान्वित भएको छौँ । यो पुरस्कार आइएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीको परिश्रम, समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो,’ आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।

यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आइएमई पेको स्थानलाई अझ बलियो बनाउँछ । आइएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देशभरका व्यक्ति र व्यवसायलाई सशक्त बनाउन प्रतिबद्ध छ ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्