काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब एक करोड ८५ लाख ३०५ रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ ।
विभागले २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट ९ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ लागतका २१९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ ।
विभागका अनुसार गत आवमा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि तीन अर्ब ९१ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । त्यसैगरी ऊर्जामूलक क्षेत्रअन्तर्गत चार परियोजनाका लागि सात अर्ब १६ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।
त्यस्तै कृषिमूलक क्षेत्रका लागि १८ वटा परियोजनामा २३ अर्ब १८ करोडको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रका लागि २२७ परियोजनामा १३ अर्ब ९९ करोडबराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । त्यसैगरी सूचनाप्रविधिमूलक क्षेत्रमा ७२७ परियोजनाका लागि दुई अर्ब ८३ करोडबराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।