चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहस सकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
साहारा सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।
बुधबारदेखि सुरू भएको थुनछेक बहसमा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए।
त्यस्तै, प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य, सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामचन्द्र देवकोटा र डा.नारायणदत्त कँडेलले बहस गरेका थिए।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिनासम्बन्धी आरोपमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले मंगलबार लामिछानेसहित १५ जना व्यक्ति र ६ संस्थाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
यसअघि पनि लामिछाने विभिन्न सहकारी ठगी प्रकरणमा अदालतबाट धरैटीमा रिहा भइसकेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनले ६५ लाख रुपैयाँ धरौटी बुझाएका थिए भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा १ करोड धरौटी बुझाएका थिए ।