काठमाडौं । काठमाडौँको टोखामा सञ्चालित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले तीन वर्षमा झन्डै तीन हजार बिरामीलाई घरमै गएर सेवा प्रदान गरेको छ ।
ग्रान्डीले स्थापनाको नवौँ वर्षको अवसरमा सन् २०२२ जनवरीमा बिरामीको घरमै गएर सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘ग्रान्डी एट होम’ सेवा सञ्चालन गरेको थियो । ग्रान्डीले हालसम्म दुई हजार ७५५ बिरामीलाई घरमै गएर सेवा प्रदान गरेको अस्पतालकी एजीएम अर्चना प्रधानले जानकारी दिइन् । उनका अनुसार अशक्त, वृद्ध र दीर्घरोगका बिरामीलाई लक्षित गरी उक्त सेवा सञ्चालन गरिएको हो ।
ग्रान्डीले सन् २०२२ मा ७५५, सन् २०२३ मा ९०० र सन् २०२४ मा ११०० बिरामीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले बिरामीको घरमै पुगेर रगत तथा दिसापिसाब जाँच गर्ने, डाक्टर परामर्श सेवा प्रदान गर्ने, औषधी सेवा, विरामीको टाँका काट्ने, पीसीआर परीक्षण, घाउको डेसिङ गर्ने, फिजियोथेरापी गर्नेलगायतका काम ग्रान्डी एट होममार्फत प्रदान गर्दै आएको छ ।
वि.सं. २०६९ मा काठमाडौंको टोखामा स्थापना भएको अस्पतालले हाल २ सयभन्दा बढी शय्यामार्फत अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । उक्त अस्पतालले हाल विभिन्न ३४ विभागमार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।