काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार कांग्रेसको वैचारिकीमाथि नै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आज बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नु हुन्न । यो पटकपटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ । त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ,’ उनले भने ।
यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा केपी ओलीले यसअघि पनि पटकपटक गरिसकेको आरोप उनले लगाए । ‘त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईंहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईंहरुको वैचारिकी ?’ प्रचण्डले प्रश्न गरे ।
माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने कांग्रेस नेताहरुको अहिले बोली फेरिएको उनले उल्लेख गरे । ‘कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरुले धेरै ताली खाए । पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुईवटा दल हुने हो र एक्लाएक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए । देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईंहरुले नयाँ सत्तागठबन्धन गर्नुभयो । तर, गत स्थानीय तहको उपचुनावमा के भयो ? दुई ठूला दलबीच नै गठबन्धन भयो । गठबन्धनमात्र होइन, तपाईंहरुले एकअर्कालाई आफ्ना चुनावचिह्न भाडामा पनि दिनुभयो । एउटा पार्टीको नेता अर्को पार्टीको चिह्नमा पनि चुनाव लड्नुभयो,’ उनले भने ।
कांग्रेसमा पहिले सुनिने गठबन्धन विरोधी गनगन र करकर यसपटक कतै नसुनिएको उनले टिप्पणी गरे । ‘पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भूत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो । तपाईंहरुलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ । सकियो त ? सकिएन बरु लगभग पहिलो पार्टीका रुपमा पुनरोदय भयो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।