• Menu

हेटौँडा उपमहानगरद्वारा फोहोर संकलन स्थगन

नेपाल प्रफिट

२०८१ माघ २४, १५:०१

हेटौँडा उपमहानगरद्वारा फोहोर संकलन स्थगन

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाभित्रका १९ वडामा फोहोर संकलन अनिश्चितकालका लागि स्थगन गरिएको छ । मंगलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभएसम्मका लागि फोहर नफाल्न उपमहानगरपालिकाको नाममा निषेधाज्ञा जारी गरेसँगै फोहर संकलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरको कार्यालयले बिहीबार  सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर संकलन स्थगन गरिएको उल्लेख गरेको हो ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेले अदालतले राप्ती तटमा फोहर नफाल्न आदेश जारी गरेको बताउँदै उपमहानगरसँग वैकल्पिक स्थान नभएकाले तत्कालफोहर उठाउन रोक्नु परेको उल्लेख गरे ।

दुईसाता अघि राप्ती तटमा रहेको फोहोर संकलन तथा व्यवस्थापन केन्द्रमा आगलागी भएपछि प्रदूषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सोको सुनुवाइ गर्दै न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले गत मंगबार राप्ती तटमा फोहोर फाल्न नलगाउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्