• Menu

कर्जाको ब्याज ३३ प्रतिशतले घटेर २२ महिनायताकै न्यून, सेयर कर्जा बढ्यो, बैंकर भन्छन्- हाइड्रोमा सम्भावना छ

नेपाल प्रफिट

२०८१ माघ २२, ११:५३

कर्जाको ब्याज ३३ प्रतिशतले घटेर २२ महिनायताकै न्यून, सेयर कर्जा बढ्यो, बैंकर भन्छन्- हाइड्रोमा सम्भावना छ

काठमाडौं । कर्जाको ब्याज २२ महिनायताकै न्यून विन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.६९ प्रतिशतमा झरेको हो ।

वित्तीय प्रणालीमा लगानीयोग्य रकम (तरलता) उच्च हुँदै जाँदा कर्जाको ब्याज लगातार ओरालो लागेको छ । तरलता उच्च भए पनि कर्जाको माग सुस्ताएपछि ब्याज घटाउन बैंक तथा वित्तीय संस्था बाध्य भएका हुन् ।

कर्जाको माग उच्च भएका बेला २०७९ फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर २०८१ पुससम्ममा ३३.३१ प्रतिशतले घटेर ८.६९ प्रतिशतमा झरेको हो । ब्याजदर २२ महिनामा ४.३४ प्रतिशत विन्दुले घटेको छ । त्यस्तै आधार दर १०.६४ प्रतिशतबाट ६.६५ प्रतिशतमा झरेको छ ।

तरलता उच्च भएपछि वाणिज्य बैंकसँगै विकास बैंक र वित्त कम्पनीले पनि कर्जाको ब्याज घटाएका छन् । कर्जा प्रवाह हुन नसक्दा गत आर्थिक वर्ष २०८०/८१ मा जम्मा ५.९७ प्रतिशतमात्र कर्जा विस्तार वृद्धि भयो । राष्ट्र बैंकको लक्ष्य ११.५ प्रतिशत थियो । चालु आवका लागि राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा वृद्धिदर लक्ष्य लिएको छ ।

अहिले सेयर कर्जाको माग केही बढेको देखिएको छ । बैंक वित्तीय संस्था साउनदेखि पुससम्ममा सेयर धितो कर्जा २६.३ प्रतिशत बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म आइपुग्दा १ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ । पुस मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ७५ अर्ब ४४ करोड प्रवाह भएको छ ।

केही समययता हाइड्रोबाट कर्जाको माग बढ्ने संकेत देखिएको छ । नेपाल बैंकर संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला हाइड्रोबाट सम्भावना देखिएको बताउँछन् । ‘हाइड्रोमा तत्काल हुँदैन, समय लाग्छ,’ उनले भने, ‘तर सम्भावना देखिएको छ ।’

अधिकांश बैंकहरुले विकास निर्माणले गति नलिँदा कर्जा प्रवाह प्रभावित भएको बताउँदै आएका छन् । प्रभु बेंकका सीईओ अशोक शेरचनले ठूला परियोजना निर्माणले तीव्रता पायो भने धेरै क्षेत्र चलायमान हुने र कर्जाको माग बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्