• Menu

बिमा कम्पनीहरुले ६ महिनामा गरे १ खर्ब २ अर्बको व्यवसाय

नेपाल प्रफिट

२०८१ माघ २०, १२:३६

बिमा कम्पनीहरुले ६ महिनामा गरे १ खर्ब २ अर्बको व्यवसाय

काठमाडौं । बिमा कम्पनीहरुले ६ महिनामा १ खर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि साउनसम्ममा बिमा कम्पनीहरुले १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

बिमा कम्पनीहरुको व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको भन्दा ९.४२ प्रतिशत बढी हो । गत वर्ष समीक्षा अवधिमा बिमा कम्पनीहरुले ९३ अर्ब ६६ करोड १७ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका थिए ।

साउनदेखि पुससम्ममा जीवन बिमा कम्पनीहरुले ८१ अर्ब १७ करोड ८६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । यो व्यवसाय गत वर्षको तुलनामा ९.३७ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा जीवन बिमा कम्पनीहरुले ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका थिए ।

त्यस्तै यो अवधिमा निर्जीवन बिमा कम्पनीहरुले २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । गत वर्ष सोही अवधिमा कम्पनीहरुले १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका थिए । गत वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय ९.६ प्रतिशतले बढेको छ ।

आव २०८१/८२ पुससम्ममा जीवन बिमा कम्पनीहरुको सक्रिय बिमालेख संख्या १ करोड ४० लाख ४१ हजार ३५३ वटा छ । यो संख्या २०८०/८१ पुससम्म १ करोड ३८ लाख १६ हजार ७९४ थियो ।

२०८१ पुस मसान्तसम्ममा बिमाको दायरामा आएको जनसंख्या बढेर ४३.६२ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा यो संख्यामा सामान्य वृद्धि भएको छ । गत वर्षको पुससम्म बिमाको दायरामा आएको जनसंख्या ४३.०५ प्रतिशत थियो ।

नेपालमा १४ जीवन, १४ निर्जीवन, तीन लुघ जीवन र ४ लघु निर्जीवन बिमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्