काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ । विश्वको जुनकुनै देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ ।
आइएमई पे मा रकम प्राप्त गर्दा १० हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकमअनुसार ५० हजार, एक लाख र दुई लाखसम्ममा क्रमश: १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।
कारोबारमा संलग्न एक जनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् । यो योजनामार्फत आइएमई पे मा रकम प्राप्त गर्दा बोनसमात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासमा समेत वृद्धि हुने कम्पनीले जनाएको छ ।
आफन्तको पैसा आइएमई पे मा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।