काठमाडौं । सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ अंकमा उक्लिएको हो ।
अन्य समूह सबैभन्दा धेरै ४.२४ र लगानी समूह ३.८२ प्रतिशतले बढेको छ । वित्त, उत्पादनमूलक र म्युचुअल फन्डबाहेकका सबै समूह उल्लेख्य ढंगले बढेका छन् ।
आज कारोबार रकम पनि उच्च भएको छ । मंगलबार ६ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा आज ९ अर्ब २० करोड ३० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो ।
बजार उच्च अंकले बढ्दा १९६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३७ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।