• Menu

नारायणी लिफ्ट सिँचाइबाट बाह्रै महिना पानी उपलब्ध

नेपाल प्रफिट

२०८१ माघ ८, २१:३७

नारायणी लिफ्ट सिँचाइबाट बाह्रै महिना पानी उपलब्ध

चितवन । नारायणी लिफ्ट सिँचाइ सिँचाइ आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराएको छ । आयोजनाले ५० वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छोडेको हो । यसअघि बर्खायाममा मात्रै पानी छाडिने गरेकामा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ ।

आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार २०३९ सालमा स्थापना भएको उक्त आयोजनाले यसपटक हिउँदको समयमा दुईवटै नहरमा पानी छोडेको हो ।

उनले भने, ‘नहरमा गत वर्ष मात्रै पानी छोडेका थियौँ । अहिले दुवै नहरबाट पानी छोडेका छौँ ।’ किसानको मागअनुसार पानी छोडिएको उनले बताए । उनले थपे, ‘गहुँ, आलु र राजमाखेती गर्ने किसानको मागअनुसार पानी छोडेका छौँ ।’

विगतका वर्षहरूमा उपभोक्ताको माग नहुने गरेकामा दुई वर्षयता माग बढेको हो । आयोजनाले चार हजार चार सय हेक्टर जग्गामा सिँचाइ गर्दै आएको छ ।

अहिले ३५ प्रतिशत क्षेत्रफलमा गहुँ, आलु र दाल राजमाखेती गरिएको सूचना अधिकारी चालिसेले जानकारी दिए । उनले भने, ‘हामीले पानी छोडेको एक साता बढी भयो । किसानको मागअनुसार पानी छोड्छौँ ।’

बर्सातमा विशेष गरी धान रोप्नका लागि मात्रै पानी छोड्ने गरिएको भए पनि अहिले हिउँदमा समेत पानीको माग बढेको उनले बताए ।

चैत र वैशाख महिनामा नारायणीमा पानी कम भए समस्या हुने भए पनि अन्य समयमा मागअनुसारको पानी दिन आयोजना तयार रहेको सूचना अधिकारी चालिसेले बताए । अहिले गौरीगञ्ज क्षेत्रमा पानीको प्रयोग भइरहेको उनको भनाइ छ ।

नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले हिउँदमा पनि सबै पम्पबाट पानी तान्न सक्ने व्यवस्था गरिएको बताए ।

३० करोडभन्दा बढी खर्च गरेर पम्प नयाँ जडान गरेपछि हिउँदको समयमा पानी दिन थालिएको हो । चैत र वैशाख महिनामा नारायणी नदीमा पम्पले तान्ने तहभन्दा पानीको सतह तल झर्ने गर्दछ ।

त्यसलाई समाधान गर्न भरतपुर महानगरपालिकाले ५० लाख विनियोजन गरेको भन्दै मुहान मर्मत गरेर बाह्रै महिना पानी तान्न सक्ने बनाइने बताए । चैत लागेपछि मकैका लागि पानी आवश्यक पर्दछ ।

यसको तयारीमा आफूहरू जुटेको रानाभाटले बताए । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीबाट पम्पमार्फत पानी तानेर महानगरका विभिन्न वडामा सिञ्चित गरिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्