• Menu

स्थानीय तहका कारण पनि रिकभरीमा समस्या भइरहेको छ, तत्काल ब्याजदर बढ्दैन : बैंकर्स संघ

नेपाल प्रफिट

२०८१ माघ ८, १७:४५

स्थानीय तहका कारण पनि रिकभरीमा समस्या भइरहेको छ, तत्काल ब्याजदर बढ्दैन : बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरु साँवाब्याज असुलीको दबाबमा रहेको बताएको छ । संघको थापाथलीस्थित कार्यालयमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष सन्तोष कोइरालाले बैंकहरु कर्जा असुलीको दबाबमा रहेको बताएका हुन् ।

कतिपय कर्जा स्थानीय सरकारहरुको असहयोगका कारण पनि समस्यामा परेको उनले बताए । ‘स्थानीय तहका कारण रिकभरीमा समस्या भइरहेको छ,’ अध्यक्ष कोइरालाले भने, ‘घरबाटो लगायतका सिफारिस सहजै नदिएर स्थानीय तहहरुले समस्या सिर्जना गरेका छन्, नामसारी भएर आइसकेको सम्पत्तिमा पनि त्यही समस्या छ ।’

रिकभरीमा जाँदा कर्मचारीमाथि आक्रमण भएका घटनाले भने गम्भीर बनाएको उनले बताए । उनले सुरक्षाका लागि सरकारसँग आग्रह पनि गरे । अहिले आर्थिक समस्याका कारण बैंक र ऋणीबीचको सम्बन्ध केही बिग्रिएको उनले बताए । ‘उनीहरुको पुरानै कर्जा समस्यामा परेकाले थप र नयाँ कर्जाको माग हुन सकेको छैन,’ कोइरालाले भने, ‘अहिले कर्जाको माग छैन, त्यसका लागि व्यवसायीमा कन्फिडेन्स नै बढेको छैन ।’

केही समययता जलविद्युतलगायतका क्षेत्रबाट राम्रो प्रस्ताव आइरहेको उनले बताए । ‘जलविद्युतको कर्जा डिस्पर्स हुन समय लाग्छ तर सम्भावना देखिएको छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका कोइरालाले भने, ‘पर्यटनमा पनि आशाका किरण देखिएका छन् ।’

खराब कर्जा बढ्नु, वितरणयोग्य नाफा संकुचन हुनु र तरलता योग्य रकम पर्याप्त हुँदा पनि कर्जाको माग नहुनुले भने चिन्तित बनाएको उनले बताए । ‘तथापि, नेपालका बैंकहरु नियामकीय निकायका प्रावधानमा रहेर सञ्चालन भइरहेका छन्, अहिलेको जत्तिको अवस्थामा आत्तिहाल्नुपर्ने देखिँदैन,’ कोइरालाले भने । अर्थतन्त्रलाई चलायमान बनाउन र  कर्जा बढाउन अहिले सरकार पनि सक्रिय भएको महसुस उनले गरेका छन् ।

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले बैंकहरुले एभरग्रिनिङ गरेका कारण दोस्रो त्रैमासको अन्त्यमा ह्वात्तै कर्जा भएको भन्ने आरोपको खण्डन गरे । ‘मुख्य कुरा कुन नियतले कर्जा तलमाथि भइरहेको छ भन्ने हो, विधि र प्रक्रियाभित्र रहेर आफ्ना गतिविधि गर्नुलाई अन्यथा लिनु हुँदैन,’ उनले भन, ‘माघ ४ भित्र निक्षेप ८ अर्बले बढेको छ, कर्जा २० अर्बले घटेको छ, यो तथ्यांक अध्ययन गर्‍यो भने पनि धेरै स्पष्ट भइन्छ ।’

खराब कर्जा २-४ प्रतिशत आउँदा हाउगुजी बनाएको तर्क उनले गरे । ‘अहिले पनि नेट एनपीएल २ प्रतिशतभन्दा तल नै छ,’ रेग्मीले भने, ‘आत्तिनुपर्ने अवस्था छैन ।’

पत्रकार सम्मलेनमा संघका सीईओ अनिल शर्माले विश्व आर्थिक अवस्थासँग नेपालको आर्थिक अवस्थाको तुलनाका साथै बैंकहरुको वर्तमान परिदृष्यबारे प्रस्तुतीकरण दिएका छन् । कर्जा प्रवाह सुस्त हुनु, व्यवसायीको मनोबल उठ्न नसक्नु, खराब कर्जा बढ्नु, बैंकका कर्मचारीमाथिको आक्रमण, घट्दो वितरणयोग्य नाफा र आरओई, बढ्दो मुद्रास्फीति एवं वैदेशिक रोजगारीलाई चुनौतीको रुपमा औँल्याएका छन् ।

बैंकिङ क्षेत्रलाई माथि उठाउन सरकारले सहयोग गर्नुपर्ने उनले बताए । व्यावसायिक वातावरण निर्माण, पुँजीगत खर्च वृद्धि, प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि, समष्टिगत मागमा वृद्धि एवं पर्यटन, सेवा र जलविद्युत क्षेत्रको प्रवर्धनले मात्र अर्थतन्त्र चलायमान हुने विश्वास शर्माले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्